आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरुप प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य धमाधम भइरहेको छ । यसै क्रममा झापा क्षेत्र नं ५ सहित १५ जिल्लाका १८ वटा निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा जारी मतपत्र छपाइअन्तर्गत हालसम्म १८ वटा निर्वाचन क्षेत्रको काम सकिएको हो । आयोगका अनुसार झापा क्षेत्र नं ५ र सुनसरी क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ ।
यस्तै, भौगोलिक रूपमा विकट मानिएका कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाको मतपत्र पनि तयार भइसकेको छ । छपाइ सम्पन्न भएका जिल्लाहरूमा डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट रहेका छन् ।
त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको क्षेत्र नं १ र २, रुकुम पश्चिम, बाजुरा तथा अछामको क्षेत्र नं १ र २ को पनि मतपत्र छपाइ सकिएको छ । सुदूरपश्चिमकै कैलाली क्षेत्र नं १ को समेत मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ । मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ गरी सम्बन्धित निर्वाचन क्षेत्रहरूमा पठाइसकिएको छ ।
आयोगले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्ने गरी बाँकी रहेका अन्य निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्यलाई पनि तीव्रता दिएको छ ।