विराटनगर , ५ असार । प्रतिनिधिसभामा यही असार ८ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएको सदनलाई जानकारी गराउनुभएको छ ।
सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरी १७ समूहमा विभाजन गरिएको बताउनुभयो। प्रश्नोत्तरका लागि सांसदहरूलाई आज साँझ ५ बजेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष प्रश्न टिपाउन आग्रह गर्नुभएको छ ।
असार ८ गते हुने प्रश्नोत्तरमा पहिलो समूहमा रहेका सांसदहरुले प्रश्न टिपाउने र सोहीमाथि छलफल हुनेछ । यसअघि पनि प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गरिएको थियो ।