पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ सेवन गर्दा एकै परिवारका पाँच जना बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजिकैको बारीबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सदस्यहरूमा समस्या देखिएको हो।
साँझ करिब ५ बजेदेखि वाकवाकी र पेट दुख्ने लक्षण देखिएपछि उनीहरूलाई तत्काल अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।
विषाक्त च्याउका कारण हर्कमाया राईसहित ३२ वर्षीय समीर लिम्बू, २३ वर्षीया बिनिता राई, ७८ वर्षीय दलप्रसाद लिम्बू र ७३ वर्षीया दलमाया लिम्बू बिरामी परेका हुन्।
बिरामीहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको छ। अस्पतालका अनुसार सबैको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको छ।