.

भारतमा माग बढेपछि नेपाली बजारमा महंगियो गोलभेडा

विराटनगर ,२३ साउन । भारत निर्यात हुन थालेपछि नेपाली बजारमा गोलभडाको मूल्य अचाक्ली बढेको छ । दुई साताअघिसम्म प्रतिकिलो ४० देखि ५० रुपैयाँमा बिक्री हुँदै आएको गोलभेडाको मूल्य बढेर अहिले १६० देखि १७० रुपैयाँ पुगेको छ । सोमबार विराटनगरको गुद्री बजारमा गोलभेडा प्रतिकिलो १२५ रुपैयाँले थोक कारोबार भएको थियो । खुद्रा बजारमा १६० देखि १७० रुपैयाँले बिक्री भइरहेको छ ।

भारतले आयात खुला गरेपछि नेपाली किसानले उत्पादन गरेको ठूलो परिमाणमा गोलभेडा दैनिक भारत निर्यात भइरहेको छ । भारत निर्यात हुनथालेपछि किसानले पनि गोलभेडाको कुस्त मूल्य पाएका छन् । धनकुटा, तेह्रथुम आदि जिल्लाका किसानले उत्पादन गरेको गोलभेडा अहिले प्रतिकिलो ११० रुपैयाँले बिक्री गरिरहेको विराटनगरका तरकारी व्यवसायीहरुले बताएका छन् । भारतीय बजारमा टमाटर निर्यात भएसँगै किसानहरूले बोटमै प्रतिकिलो ११० पाएकोले खुसी भएको सहिदभूमी गाउँपालिका वडा ६ का कृषक बलराम राईले बताए ।

लामो समयदेखि विराटनगरको गुद्री बजार सञ्चालक समितिमा आवद्ध भएका गुड्डु मियाँका अनुसार अहिले किसानहरुले गोलभेडाको पर्याप्त मूल्य पाइरहेको र भारततर्फ निर्यात हुँदा नेपाली उपभोक्ताले भने महंगोमा उपभोग गर्नु परेको बताए । यतिबेला पूर्वी नेपालको काँकडभिट्टा, विराटनगर, भाण्टाबारी लगायत देशभरका भन्सारबाट गोलभेडा भारत निर्यात भइरहेको मियाँले जानकारी दिए । किसानले विगतकै तुलनामा उत्पादन गरेपनि भारत तर्फको निर्यात बढ्दा आन्तरिक बजारमा अभाव देखिएको हो ।

कोशी प्रदेशमा बर्खायाममा धनकुटाको मौनबुधुक, महाभारत, तेह्रथुमका विभिन्न स्थान, इलाम, पाँचथर तथा भोजपुरका कतिपय ठाउँमा गोलभेडा खेती हुने गरेको छ । धनकुटा र तेह्रथुमबाट धरान–१३ स्थित कृषि बजारमा दैनिक ३० टन टमाटर आउने गरेको छ भने विराटनगरमा पनि सोही परिमाणमा गोलभेडा आइरहेको छ । तर योभन्दा धेरै भारत निर्यात हुने गरेको व्यापारीहरुले बताएका छन् ।


नेपाली तरकारी भारतीय बजारमा निर्यात हुनु सकारात्मक भएपनि शहरी उपभोक्ता भने मूल्य वृद्धिको मारमा परेका छन् । एक महिनाअघिसम्म भारतबाट सस्तोमा गोलभेडा आयात हुँदा स्टोरेज गरेर राख्ने व्यवस्था नहुँदा अहिले उपभोक्ताले महंगोमा किन्न बाध्य भएको मियाँले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया