.

शिक्षक र सवारी चालक पक्राउ

इलामको देउमाई नगरपालिका मंगलबारेस्थित भानुभक्त माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट र अमानवीय व्यवहार गरेको घटना बाहिर आएको छ ।

निर्घात कुटपिट गरेको आरोपमा एक शिक्षक र विद्यालयका सवारी चालक पक्राउ परेका छन् । इलाम प्रहरी प्रमुख एसपी कुलदीप चन्दका अनुसार कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई कुटपिट तथा अपमानजनक व्यवहार गरेको घटना आएपछि विद्यालयका शिक्षक अंकित दमाई र विद्यालयको बसका चालक सुशन मगरलाई पक्राउ गरिएको छ । अंकित प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङतर्फका सहायक प्रशिक्षक रहेको बताइएको छ ।

घटनापछि पक्राउ गरेर दुवै जनामाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्यार्थीलाई मंगलबारे बजारस्थित एक होटलमा बोलाएर कुटपिट र अपमानजनक व्यवहार गरिएको पाइएको छ । घटनासम्बन्धी भिडियोसमेत बाहिरिएको प्रहरीको भनाइ छ ।


विद्यार्थीलाई डर देखाउने, धम्क्याउने तथा शारीरिक यातना दिने किसिमका गतिविधि भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केही दिनअघि सामाजिक सञ्जालमा भएको विवादसँग जोडेर विद्यार्थीलाई होटलमा बोलाएर कुटपिट गरिएको हुन सक्ने आशंका छ । तर, प्रहरीले यसका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

घटनाबारे उजुरी परेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको एसपी चन्दले जानकारी दिए । घटनापछि विद्यालय र स्थानीय क्षेत्रमा आक्रोश देखिएको छ । अभिभावकहरूले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् । प्रहरीका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान जारी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया