.

बालकलाई फकाएर सुनका कुण्डल लुट्ने दुई जना पक्राउ

झापाको कनकाई नगरपालिका–३ मा बालकलाई फकाएर कानमा लगाएको सुनका कुण्डल लुट्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार असार २४ गते साँझ करिब ६ बजे कनकाई–३ काजयराम श्रेष्ठका ९ वर्षीय छोरा प्रजन श्रेष्ठ घरनजिक खेलिरहेका बेला फकाएर कानमा लगाएको दुई आना बराबरका दुई थान सुनका कुण्डल लिएर दुई जना अपरिचित फरार भएका थिए । बालकका बुवा जयराम श्रेष्ठले असार २५ गते इलाका प्रहरी कार्यालय सुरुङ्गामा घटनाको उजुरी दिएपछि इन्स्पेक्टर रवि राईको नेतृत्वमा अनुसन्धान सुरु गरिएको थियो ।

घटनास्थल आसपासका सीसीटिभी फुटेजको अध्ययनका आधारमा प्रहरीले कनकाई नगरपालिका–५ बेनुवाजा टोलकी ३६ वर्षीया बिमला पाँचकोटी र शिवसताक्षी नगरपालिका–९ का ३० वर्षीय ‘बिजु’ भनिने विजय दर्जी घटनामा संलग्न रहेको पत्ता लगाएको थियो । प्रहरीले असार २५ गते राति पाँचकोटीलाई उनकै घरबाट पक्राउ गरे पनि लुटिएका सुनका कुण्डल भने बरामद हुन सकेनन् ।

घटनापछि फरार रहेका दर्जीलाई असार २७ गते बिहान कनकाई–३ स्थित कृषि बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दर्जी पाँचकोटीका बहिनी ज्वाइँ रहेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध चोरी तथा लुटपाट सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया