.

मदिराको नशामा खुकुरी र चक्कु प्रहार : दुई महिला घाइते, एक पक्राउ

झापाको अर्जुनधारा नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा मदिरा सेवनपछि भएका दुई छुट्टाछुट्टै हिंसात्मक घटनामा दुई महिला घाइते भएका छन्। एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का आरोपित फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार राति करिब ९ः३० बजे अर्जुनधारा नगरपालिका–३ डाँडागाउँका ४३ वर्षीय कुमार बराइलीले मदिरा सेवन गरी आफ्नै परिवारका सदस्यलाई खुकुरी देखाउँदै ‘काट्छु, मार्छु’ भन्दै ज्यान मार्ने धम्की दिएका थिए।

घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट प्रहरी सहायक निरीक्षक प्रकाश मेहताको नेतृत्वमा खटिएको टोलीले बराइलीलाई खुकुरीसहित नियन्त्रणमा लिएको हो। उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यता सोमबार राति करिब १२ः४५ बजे गौरीगञ्ज गाउँपालिका–४ बैसीटोलमा घरेलु विवादका क्रममा २७ वर्षीय रामु खड्काले मदिरा सेवनपछि आफ्नी आमा र श्रीमतीमाथि चक्कु प्रहार गरेका छन्।

चक्कु प्रहारबाट उनकी ६० वर्षीया आमा मधु खड्काको बाँया हातमा चोट लागेको छ। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ। त्यस्तै, २४ वर्षीया श्रीमती आस्मिता खड्काको कोखामा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको जनाइएको छ। दुवै जनाको गौरीगञ्ज आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि रामु खड्का फरार भएका छन्। उनको खोजीका लागि इलाका प्रहरी कार्यालय खजुरगाछीबाट प्रहरी नायब निरीक्षक कृष्ण पोखरेलको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया