अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएकी छन्। आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ। त्यसमा भोट हाल्ने नयाँ मतदाताले आगामी कात्तिक ३० गतेभित्र नामावली दर्ता गराइसक्नुपर्ने छ। तर निर्वाचन आयोगको अनलाइन प्रविष्टिमा समस्या देखिएपछि प्रधानमन्त्री कार्कीले चासो देखाएर निर्वाचन आयोगलाई सहजीकरणका लागि निर्देशन दिएको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए।
मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन प्रधानमन्त्री कार्कीले तीन बुँदे निर्देशन पनि दिएकी छन ्। निर्वाचन कार्यालयहरूमा बढिरहेको कार्यचाप अनुरूप आवश्यकता अनुसार कार्य समय÷सिफ्ट बढाइ मतदाता नामावली दर्ता प्रक्रियालाई थप सहज बनाउनुका साथै यसका लागि थप कर्मचारी परिचालन गर्न आवश्यक भएमा सम्बन्धित निकायमा पत्राचार गर्न कार्कीले निर्देशन दिएकी छन्।
त्यस्तै मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेको तथ्यांकलाई मतदाता नामावली दर्ताका लागि प्रयोग गर्न मिल्ने गरी आवश्यक प्राविधिक एवम् कानूनी प्रक्रिया अगाडि बढाउन पनि कार्कीले भनेकी छन्।
हाल सञ्चालनमा रहेको मतदाता नामावली संकलन कार्य तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था देखिएमा मतदाता नामावली संकलनको म्याद कात्तिक ३० लाई पुनरवलोकन गर्न पनि निर्देशन दिएकी छन्। त्यस्तै प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्ता प्रक्रियालाई आवश्यक सहजीकरण गरिदिन गृह मन्त्रालयलाई समेत निर्देशन दिएकी छन्।