.

तातो हावाको लहर अझै बढ्ने, सावधानी अपनाउन विज्ञको सुझाव

 विराटनगर , १७ बैशाख ।  केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही ठाउँमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् ।आउँदो केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन् बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार यस वर्ष सबैभन्दा बढी ४३ दशमलव ६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख ८ गते यो तापक्रम रेकर्ड भइसकेको छ ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैस्– थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्तालगायत हुन सक्छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नजान, हल्का लुगा लगाउन, सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित ९पटक–पटक० पानी तथा झोल पदार्थ ९जुस, सर्बत, आदि० प्रशस्त मात्रामा पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

यस्तै स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया