.

बाग्लुङ पहिरो: तीन जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याइयो


विराटनगर  – बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा पहिरोले घरगोठ बगाउँदा हिजो गम्भीर घाइते भएका तीन जनालाई आज थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । घाइतेहरू ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीय संगीता बुढालाई उपचारका लागि काठमाण्डौ ल्याइएको हो ।


प्रतिकूल मौसमका कारण हिजो उनीहरूलाई उपचारका लागि अन्त लैजान सक्ने अवस्था नभएपछि आज नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । हिजो बडीगाड–१० आरुपाटामा घरमा पहिरो खस्दा ६ जनाले ज्यान गुमाएका थिए ।


त्यस्तै बडीगाड–९ मा दुई जना गरी ८ जनाको ज्यान गएको थियो । पहिरोमा ९ जना घाइते भएका छन् । घाइतेमध्ये अरूलाई थप उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । त्यस्तै ओमप्रसाद पुन, सिर्जना विक, मंगलसेन बुढा, सुमित्रा विक, सशीराम विक र ज्ञाने बुढाको बुर्तिबाङमा उपचार भइरहेको छ ।


पहिरोमा हराइरहेका चार जनाको खोजी भइरहेको छ । पहिरोका कारण झन्डै ५० घरधुरी विस्थापित भएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया