सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई विशेष अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
विशेष अदालतले मंगलबार जारी गरेको सूचनाअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा पौडेलविरुद्ध जारी गरिएको जरूरी पक्राउ पूर्जी स्वीकृत गर्दै पहिलो पटक सात दिनको म्याद थप गरिएको हो।
सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्ने आदेश दिएको अदालतले जनाएको छ। अदालतको आदेशअनुसार आरोपी विष्णु प्रसाद पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ।
अदालतले सोही मागअनुसार पहिलो चरणमा सात दिनको म्याद स्वीकृत गरेको हो। यसअघि मंगलबार विशेष अदालतमा म्याद थपसम्बन्धी बहस भएको थियो। अब विभागले अदालतले दिएको समयभित्र थप अनुसन्धान प्रक्रिया अघि बढाउनेछ।