विराटनगर ,११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा राखिएको सुनको जलहरीमा प्रयोग भएको सुनको नापतौल र गुणस्तर परीक्षण सकाएको छ ।
अख्तियार टोलीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, महानगरपालिकाका जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको आइतबार अपरान्ह शिवलिङ्गबाट जलहरी निकालेर नापतौल तथा परीक्षण गरेको हो ।
सीसीटीभी समेत जडान गरी गरिएको नापतौल र परीक्षण राती १ बजे सम्पन्न भएको थियो । पशुपति क्षेत्र विकास कोष सम्वद्ध स्रोतका अनुसार जलहरी तथा जलहरीमा लगाइएको दुई थान पेटिकामा समेत गरी जम्मा एक सय ६ दशमलव ४३२५ किलो सुन रहेको पाइएको छ ।
यस्तै, जलहरी कस्नलाई बनाइएका काँटीको तौल १ दशमलव ३७५ किलो रहेको पाइएको छ । सुनको गुणस्तर भने २२ क्यारेटको रहेको स्रोतले जनाएको छ । जलहरीमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन पर्यटन, सँस्कृति तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललगायत १३ जनाको नाम कुँदिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुन मध्ये ११ किलो सुनको हिसाब नदेखिएको प्रश्न उठाएपछि विवाद चर्किएको थियो ।२०७७ साल माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न लगाउनु भएको थियो । पशुपति क्षेत्र विकास कोषको ५० करोड र नेपाल सरकारको ३० करोड रुपैयाँको लगानीमा नेपाल राष्ट्रबैंकबाट १ सय ३ किलो ७७३ ग्राम सुन किनेर जलहरी राखिएको थियो ।उक्त सुनमा तामा, चाँदी र जिङ्क मिसाएर जलहरी बनाइएको थियो ।