.

विभिन्न थरीका गेडागुडी मिसाइएको क्वाँटी स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर , १४ भदौ । जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटीमा मास, भटमास, मुगी, केराउ, मस्याङ, चना, सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ ।


यसरी मिसाइएको गेडागुडी मिसाएर टुसा उमारेर क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।


वर्षाको बेला पानीमा भिज्दै काम गर्दा शरीर कमजोर हुने र चिसो लाग्ने भएकाले वर्षा सकिने यो बेला शरीरलाई चिसोबाट बचाउन र शरीरलाई शक्ति मिलोस् भनेर क्वाँटी खाने गरिएको हो । डाक्टरहरुका अनुसार क्वाँटी स्वस्थकर र पोषिलो खानेकुरा हो ।



टुसा उम्रेको गेडागुडीमा भिटामिन सी र रेसा हुन्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउन र पाचन प्रणाली राम्रो गराउन सहयोग पुग्ने पोषणविद् एवम् आहरविद् समीक्षा कार्कीले बताउनुभयो । उहाँका अनुसार क्वाँटीले मधुमेहका बिरामीको शरीरमा चिनीको मात्रा कम गर्छ र मुटुको रोग लाग्नबाट पनि बचाउँछ ।


यसले कब्जियत हटाउन, उच्च रक्तचाप र कोलेस्टेरोल नियन्त्रण, शारीरिक र मानसिक स्वास्थ्य सुधारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

 चार दिन भिजाएर टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो। विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने गरिन्छ। 

यस्ता छन् क्वाँटीका फाइदा :

-कब्जियतको समस्या हटाउँछ। क्वाँटी रेसादार खानाको स्रोत हो।

-मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ। तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ।

-यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ।

-तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ।

-यो सजिलै पाच्य हुन्छ।

-पेटमा अनावश्यक वायु बनाउँदैन।

-क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ।

-रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।

-रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ।

-क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ।

-मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।

-रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ।

-टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ। त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ।

-पाचनशक्तिमा सुधार ल्याउँछ।

-गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ।

तर क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ। शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ। शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ। जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ। यसकारण क्वाँटी धेरै खानु पनि बेफाइदा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया