.

डेंगुको जोखिम कात्तिकसम्म रहने, संक्रमित २१ हजार नाघे

विरमटनगर , १४ भदौ । देशभर डेंगु संक्रमितको संख्या २१ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२३ सुरू भएयता २१ हजार २०६ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

यो वर्ष डेंगुको संक्रमण सबैभन्दा धेरै सुनसरीमा देखिएको छ । सुनसरी जिल्लामा ११ हजार ६५९ जना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, मोरङमा २ हजार २४२, धादिङमा २ हजार १०१, झापामा १ हजार ३२३ र काठमाडौंमा ४२७ जना संक्रमित भइसकेका छन् । महाशाखाका अनुसार डेंगु संक्रमण ७५ जिल्ला फैलिसकेको छ । हालसम्म संक्रमणका कारण १३ जनाको मृत्यु भएकोमा धरानमा मात्रै १० जना छन् ।मुलुकभर देखिएको कुल संक्रमणको कोशी प्रदेशमा मात्रै ७६.१० प्रतिशत संक्रमण फैलिएको छ । जसमध्ये ५४.२५ प्रतिशत सुनसरीमा देखिएको छ ।यस्तै, बागमतीमा १४.८ प्रतिशत, गण्डकीमा ३.१ प्रतिशत, सुदुरपश्चिममा २.२ प्रतिशत, लुम्बिनीमा १.७ प्रतिशत, मधेशमा ०.९ प्रतिशत र कर्णालीमा ०.२ प्रतिशतमा संक्रमण देखिएको छ ।नेपालमा डेंगु संक्रमण सन् २००४ मा पहिलोपटक देखिएको थियो । गत वर्ष सबैभन्दा धेरै ५४ हजार ७८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार यस वर्ष पनि डेंगुको जोखिम कात्तिक अन्तिमसम्म रहने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया