.

विश्व बैंकले नेपालमा स्वास्थ्य सुधारका लागि गरेको सहयोगलाई निरन्तरता दिने

विराटनगर , १६ साउन । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन्। 

सो अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैंकले गरिरहेको विभिन्न सहयोगको सराहना गर्दै आगामी दिनमा थप आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरे । विश्व बैंकका देशीय निर्देशक जेरभोसले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेकामा आगामी पाँच वर्षका लागि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक सय मिलियन डलर ऋण सहायता तथा तीन दशमलव ८४ मिलियन ग्रान्ड दिने र उक्त विषय मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा रहेको  जानकारी गराए । 

निर्देशक जेरभोसले नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि विश्व बैंकले सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै कोभिड–१९ महामारीको बेलाजस्ते अन्य महामारी तथा स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सहयोग निरन्तर जारी रहेने विश्वास व्यक्त गरे।

विश्व बैंकले कोभिड–१९ महामारीका बेला पनि विभिन्न सहयोग गरेको थियो । विशेषगरी कोभिड–१९ विरुद्धको खोप अनुदानको रुपमा स्वास्थ्य मन्त्रालयलाई दिएको थियो । मन्त्री बस्नेतले कोभिड–१९ महामारीका बेला विश्व बैंकबाट प्राप्त सहयोग रकम केही बचेको र उक्त रकम स्वास्थ्य मन्त्रालयले नै खर्च गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

कोरोनाका बेला खर्च गर्न उपलब्ध भएको मध्ये बचेको रकम अर्थमन्त्रालयमा पठाइएको थियो । उक्त रकम स्वास्थ्यमन्त्रालयले नै खर्च गरोस् भन्ने विश्व बैंकको धारणा रहेको मन्त्री बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतले स्वास्थ्य रणनीति र वित्त रणनीति पास भएर काम गर्ने वातावरण बनेको उल्लेख गर्दै यसमा जति पैसा हुनसक्छ सोही अनुसारको रणनीतिक कार्ययोजना अघि बढाइने उल्लेख गर । स्वास्थ्य मन्त्रालयले उक्त रकम खर्च गर्नका लागि अर्थमन्त्रालयमा आवश्यक प्रक्रिया अगाडि बढाएको र यो छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने मन्त्रालयको विश्वास छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया