.

सर्वसाधारणको गहना र रकम लिएर सुन व्यवसायी फरार

विराटनगर ,११ साउन ।  मोरङको रंगेली नगरपालिकाका एक सुनचाँदी व्यवसायी करोडौँ मूल्य पर्ने गरगहना लिएर परिवारसहित फरार भएका छन् । रंगली नगरपालिका–७ स्थित मुख्य बजारमा रहेको ओम शान्ति ज्वेलर्सका सञ्चालक पवन सोनी फरार भएका हुन् ।

करोडौँ मूल्यबराबरको सुनचाँदी र नगद लिएर सोनी फरार भएपछि उनको पसलमा सुन धरौटी राखेर रकम लिएका र ब्याजमा रकम लगाएका व्यक्तिहरू बिचल्लीमा परेमा छन् । पीडितले इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दिएअनुसार दुई करोड ६५ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको सुनचाँदी लिएर सोनी फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

सोनीले नगद समेत लिएर फरार भएको स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालका अनुसार उजुरी पर्ने क्रम जारी छ । सोनीले गरेको आर्थिक अपचलनबारे थप खुल्दै जाने देखिएको उनले बताए । प्रहरीका अनुसार सोनीले रंगेली र सुनवर्षी नगरपालिकाका धेरै स्थानीयको सुनचाँदीका गरगहना धरौटीमा राखेको पाइएको छ । कतिपय व्यक्तिको जग्गा नेपाली कागजमा तमसुक बनाई रकम लेनदेन समेत गरेको पाइएको छ ।

पछि आफूहरूले खोजी गर्दा सोनी पाँच दिनदेखि रंगेलीमा नरहेको खुलेको रायले बताए ।ओमशान्ति ज्वेलर्सले त्यो घर पनि लुम्बिनी विकास बैंकमा धितो राखेर एक करोडौँ रुपैयाँ ऋिण लिएको र केही महिनादेखि ब्याज समेत नतिरेको पाइएको छ ।

उक्त घरजग्गा कानुनी प्रक्रियाअनुसार लिलामी गर्ने बैंकले तयारी गरेको छ ।महँगो ब्याज पाउने आसमा कतिपय स्थानीयले नगद समेत दिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया