सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनालाई नियन्त्रणमा लिन तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न सर्वपक्षीय बैठक बसिरहेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय इनरुवामा बैठक जारी छ। बैठकमा सुरक्षा निकायका प्रमुख,जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको छ।
घटनापछि उत्पन्न परिस्थितिलाई थप बिग्रन नदिन सबै पक्षबीच छलफल गरी सहमतिका आधारमा समस्या समाधान गर्ने र जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
कप्तानगन्जमा आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएपछि देवानगन्ज र हरिनगर क्षेत्रमा तनाव उत्पन्न भएको हो।
हाल सम्भावित अप्रिय घटना रोक्न सुनसरीको देवानगन्ज र हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। सुरक्षा व्यवस्थालाई कडा बनाउँदै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पर्याप्त रूपमा परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सर्वपक्षीय बैठकमार्फत घटनापछिको अवस्था सामान्य बनाउने, सामाजिक सद्भाव कायम गर्ने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सहमति र सुरक्षा रणनीति तय गरिने बताइएको छ।