.

दुई राउण्ड हवाई फायर गरी आधा किलो खैरो हेरोइनसहित कारोबारी पक्राउ

मोरङमा ठूलो परिमाणको लागुऔषधसहित एक तस्करलाई नियन्त्रणमा लिन प्रहरीले ‘फिल्मी शैली’मा हवाई फायर गरेको छ । सोमबार राति रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा प्रहरीले दुई राउण्ड हवाई फायर गरी खैरो हेरोइन कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय रतुवामाइ नगरपालिका वडा नं. १ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ रहेका छन् । भारतबाट नेपालतर्फ लागुऔषध भित्रिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले उनलाई घेराउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) कवित कट्वालका अनुसार, भारतीय नम्बर प्लेटको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकलमा सवार मियाँले प्रहरी टोलीलाई देख्नासाथ भाग्ने प्रयास गरेका थिए । उनलाई रोक्न र नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश लिम्बूले आफ्नो चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेका थिए ।

प्रहरीको चेतावनीयुक्त फायरपछि रोकिएका मियाँको खानतलासी गर्दा उनको साथबाट ५ पोका गरी जम्मा ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम (करिब आधा किलो) खैरो हेरोइन बरामद भएको एसपी कट्वालले जानकारी दिए । बरामद गरिएको लागुऔषधको परिमाण र बजार मूल्य निकै उच्च रहेको बताइएको छ ।

पक्राउ परेका मियाँलाई हाल इलाका प्रहरी कार्यालय सिजुवामा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध तस्करी नियन्त्रण गर्न प्रहरीले पछिल्लो समय सक्रियता र कडाइ बढाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया