कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना शुरु गरिएको छ ।
निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका साझेदार संस्थाको सहभागितामा गणना थालिएको हो । यसका लागि ३५ जना जनशक्ति परिचालन गरिएको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार गणनाका लागि चारवटा मचानसहित दुई वटा गाडी र तीन वटा हात्तीको सहायता लिइनेछ ।
आजदेखि शुरू भएको गणना यही वैशाख १२ गतेसम्म हुनेछ । निकुञ्जको माझगाउँ मुख्य कार्यालयदेखि झण्डै २४ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसे मैदान नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान मानिन्छ । २०८१ सालमा गरिएको गणनामा त्यहाँ दुई हजार १८२ बाह्रसिङ्गा देखा परेका थिए ।
बाह्रसिङ्गा बाघको प्रमुख आहार प्रजातिका रूपमा रहेको छ । पर्याप्त आहार र उपयुक्त बासस्थान व्यवस्थापनका कारण निकुञ्जमा बाघको सङ्ख्यासमेत बढ्दो छ ।