डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको ज्यान गएको छ। परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध बन्दुक समातेर फोटो खिच्ने क्रममा अचानक पड्किँदा १७ वर्षीय सुवास महराको मृत्यु भएको हो।
बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए। बन्दुक पड्किएर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे।
घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाको टोलीले अनुसन्धानका लागि परशुराम–२ बसौटीका गणेशबहादुर बोहरा र अर्का एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनास्थलबाट दुर्घटनामा प्रयोग भएको भरुवा बन्दुक समेत बरामद गरेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।