आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा चुनावी माहोल तातिएको छ। मंगलबार मनोनयन दर्ता भएसँगै कुल १ सय १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटकको निर्वाचनलाई पुराना स्थापित शक्ति र उदाउँदा वैकल्पिक दलहरूबीचको कडा प्रतिस्पर्धाका रूपमा हेरिएको छ। क्षेत्र नं. १ मा १८ जना उम्मेदवार छन्। नेपाली कांग्रेसले कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोलाई मैदानमा उतारेको छ भने नेकपा (एमाले) बाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा उम्मेदवार बनेका छन्। यी दुवैका बीचमा नेपाली कम्युनिष्ट पार्टीका कुलप्रसाद साम्बा र रास्वपाका यज्ञमणि न्यौपानेले चुनौती थपेका छन्। काँग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल पुनः चुनावी मैदानमा फर्किएका छन्। क्षेत्र नं. २ मा एमालेले रंगेलीका पूर्वमेयर दीलिप बगडियालाई टिकट दिएर नयाँ प्रयोग गरेको छ। १७ जना उम्मेदवार रहेको यस क्षेत्रमा रास्वपाका कृष्णकुमार कार्की र नेकपाका चन्द्रवीर राईले पनि बलियो दाबेदारी प्रस्तुत गरेका छन्।
क्षेत्र नं. ३ मा कांग्रेसका डा. सुनिल शर्मा आफ्नो विरासत जोगाउन सक्रिय छन्। एमालेले स्थानीय इरान राईलाई उम्मेदवार बनाएको छ भने रास्वपाका प्रभावशाली नेता गणेश कार्की चुनावी मैदानमा छन्। क्षेत्र नं. ४ मा पूर्वमन्त्री अमनलाल मोदी ‘ह्याट्रिक’ गर्ने दाउमा छन्। तर, उनलाई रोक्न कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र एमालेका जीवन घिमिरे मैदानमा उत्रिएका छन्। रास्वपाले सन्तोष राजवंशीलाई उम्मेदवार बनाएर थारु र राजवंशी मत तान्ने रणनीति लिएको छ।
२२ जना उम्मेदवार रहेको क्षेत्र नं. ५ मा अघिल्लो पटक स्वतन्त्र जितेका योगेन्द्र मण्डल यसपटक आफ्नै दलबाट मैदानमा छन्। उनीसँगै नेकपाका शिवकुमार मण्डल, एमालेका मनोज अग्रवाल र कांग्रेसका फुलकुमार लालवानीबीच रोचक भिडन्त हुने देखिएको छ। रास्वपाबाट आशा झा पनि चुनावी मैदानमा छिन् ।
विराटनगरको मुख्य भाग समेटिएको क्षेत्र नं. ६ मा कांग्रेसका डा. शेखर कोइराला र एमालेका विनोद ढकालबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। कोइराला आफ्नो किल्ला जोगाउन चाहन्छन् भने ढकाल कोइरालाको विरासत भत्काएर विजयी बन्ने कसरतमा छन्। रास्वपाकी रुविना आचार्य र नेकपाका ओपेन्द्र रायले पनि युवा मतमा प्रभाव पार्ने देखिएको छ। ७ लाख ८३ हजार मतदाता रहेको मोरङमा कतै पुराना प्रतिद्वन्द्वीबीच नै प्रतिस्पर्धा हुँदैछ भने कतै नयाँ अनुहारले स्थापित नेताहरूको शक्तिलाई चुनौती दिइरहेका छन्।