विराटनगर,५ साउन । नेपाल र चीनबीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सीपको आदान–प्रदान गर्ने समझदारी भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्क र चीनको सिचुवान एकेडमी अफ एग्रिकल्चर साइन्स सास का बीचमा बिहीबार सहमति भएको हो ।
नार्कका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा।लेओ योङहङबीच प्रविधि विकास र सीप आदान–प्रदान गर्न समझदारी भएको हो । दुई देशका कृषक एवं कृषिको विकासका लागि विकास गरिएका प्रविधि प्रदर्शन, हस्तान्तरण तथा प्रवर्द्धन गरिने छ ।
यही सम्बन्धमा खुमलटारस्थित नार्कको केन्द्रीय कार्यालयमा नार्क र सासको उच्चस्तरीय प्रतिनिधिमण्डलका बीचमा भेटघाट एवं छलफल भएको नार्कका कार्यकारी निर्देशक डा भट्टराईले जानकारी दिनुभयो ।
सोही क्रममा सासका उपाध्यक्ष डा लेओले नेपाली अनुसन्धानकर्ता र प्राविधिकलाई उच्चस्तरीय कृषि प्रविधि सम्बन्धी तालिम प्रदान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली अनुसन्धानकर्तालाई चाँडै नै चीन लगेर मकै र सखरखण्डको उत्पादनका साथै प्रविधिको बारेमा तालिम दिइने उहाँले बताउनुभयो । सासका उपाध्यक्ष डा।लेओको नेतृत्वमा टोली तीन दिने नेपाल भ्रमणमा आएको छ ।