तनहुँको आँबुखैरहनी गाउँपालिका वडा नम्बर ५ द्वोन्द्राङ बेँसीमा रहेको त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ ।अवशेष भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा गएको वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटाको हुनसक्ने आशङ्का गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट झन्डै दुई सय मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो ।इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवम् प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयवासीले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि खन्ने काम भइरहेको छ । उहाँका अनुसार निलो रङको देखिएको र सिमलतालमा हराएको गणपति बसको रङसँग मिलेकाले त्यही बस हुनसक्ने सम्भावना रहेको छ । यद्यपि बस निकालेपछि मात्रै यकिन हुने उहाँले जानकारी दिनुभयो ।
२०८१ साल असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट पहिरोसहित दुई वटा बस त्रिशूलीमा बेपत्ता भएका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स त्रिशूलीमा बेपत्ता भएका थिए ।दुई वटा बसमा सवार ६५ मध्ये ११ जनाको शव फेला परेको थियो भने तीन जना घाइते भएका थिए । घटनामा ५१ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताउनुभयो ।