.

ललिता निवास जग्गा प्रकरणमा पुनः अनुसन्धान सुरु, पाँच जना पक्राउ

विराटनगर, १२ असार । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु गरेको छ ।

डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान प्रहरीले अघि बढाएसँगै योजनाकारमध्येका एक भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित अरु ४ जना पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतका अनुसार गुरुङसहित, कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका हुन् । देउजा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख हुन् भने केसी डिल्लीबजार मालपोतमा हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भूमि विज्ञसमेत भएका थिए ।प्रहरी स्रोतका अनुसार गौतम र कपाली पनि कर्मचारी हुन् । ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानका सिलसिलामा उनी पक्राउ परेको सीआईबी स्रोतले जानकारी दिएको छ ।

घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि प्रहरीले खोजी गरिरहेको छ । अख्तियारले भ्रष्टाचारबाहेक ठगी र सरकारी कागजात किर्ते गरेको अभियोगमा समेत अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । तर, महान्यायाधीवक्ता कार्यालयले ठगीमा मुद्दा चल्न नसक्ने भन्दै फाइल बन्द गरेकोले अनुसन्धान हुन सकेको थिएन ।सरकारी कागजात किर्तेको आरोपमा अनुसन्धान अघि बढेपनि महान्यायाधीवक्ता खमबहादुर खातीको निर्देशनको कारण मुद्दा दायर हुन सकेन । त्यतिबेला रोकिएको फाइल अहिले अघि बढाईएको छ ।ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदारदेखि डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीमाथि पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलेको छ ।

यस्तै अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातदेखि अरु दुई पूर्वसचिवहरु छविराज पन्त र दिनेशहरि अधिकारी मुछिएका छन् । शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ लगायतमाथि जग्गा अनियमितताको योजना बनाएको आरोपमा अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पेश गरिएको  छ । सीआईबीले भने करिव ३ सय जनाभन्दा बढीमाथि मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया