उदयपुरको चौदण्डीगढी नगरपालिकामा खोलाको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
बुधबार साँझ चौदण्डीगढी नगरपालिका–९ देवधारकी १४ वर्षीया आयुशा सदाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आयुशा बुधबार साँझ ५ बजेतिर साथीहरूसँगै चौदण्डीगढी–१० स्थित खोलाको दहमा पौडी खेल्न गएकी थिइन् । पौडी खेल्ने क्रममा उनी अचानक डुबेर बेपत्ता भएकी थिइन् । घटनाको खबर पाए लगत्तै स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले खोजिबिन गर्दा राति ७ः३० बजेतिर उनको शव मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
मृतक आयुशा स्थानीय बुधन सदाकी छोरी हुन् । इलाका प्रहरी कार्यालय बेलटारको टोलीले घटनास्थलको कानुनी प्रक्रिया र मुचुल्का पुरा गरी शवलाई पोस्टमार्टमका लागि बेलटारस्थित चौदण्डीगढी नगर अस्पताल लगेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।