.

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि झापामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ । 


प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई प्रक्रिया अघि बढाउन हिजो भनेको हो । 


अब प्रमुख जिल्ला अधिकारीले ‘स्पेसल टास्क फोर्स’ परिचालनका लागि आवश्यक समन्वय गर्ने सांसद डाँगीले बताउनुभयो । गएको हप्ता मेचीनगर नगरपालिका–४ मा ६२ बर्सिया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परि ज्यान गएपछि स्थानीयवासीले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका छन् ।


घटनापश्चात् सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले जङ्गली हात्ती नियन्त्रण गरी नागरिकको जीउधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसद्मा बोल्नु भएको थियो । ‘स्पेसल टास्क फोर्स’मा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैँले गर्ने कार्ययोजना बनेको सांसद डाँगीले जानकारी दिनुभयो । 


फोर्सलाई हात्तीको प्रवेशगौडा मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइने जनाइएको छ ।  अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतको आसाम र पश्चिम बङ्गालबाट ३० देखि १०० वटासम्म जङ्गली हात्तीको बथान एक पटकमा नेपाल प्रवेश गर्दै आएको छ । 


वन्यजन्तु आरक्ष क्षेत्र नभएकाले हात्ती नियन्त्रणका लागि सिधै सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया सहज छैन । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सङ्घीय सरकार मातहत रहेका छन् भने सशस्त्र वन रक्षक प्रदेश सरकारको मातहतमा रहन्छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया