सुनसरीको बराहक्षेत्र नगरपालिका–४ जमटोकीस्थित चतरा–पकली सडकखण्डमा मंगलबार राति सवारी दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा परेर दुईवटा मोटरसाइकलका दुवै जना चालक घाइते भएका छन् ।
कालाबन्जारबाट आन्द्रामोडतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३६०४ नम्बरको मोटरसाइकलले सडक किनारमा हिँडिरहेका करिब ४० वर्षीय पुरुषलाई राति करिब ८ः३० बजेतिर ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५८ प २५६२ नम्बरको अर्को मोटरसाइकलसँग समेत ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्रीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल पठाइएको थियो । उपचारकै क्रममा बुधबार बिहानका राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । शव विराट शिक्षण अस्पतालमै छ ।
दुर्घटनामा ३६०४ नम्बरको मोटरसाइकलका चालक बराहक्षेत्र–४ का २७ वर्षीय जेम्स चौधरी र अर्को मोटरसाइकलका चालक बजाज चालक बराहक्षेत्र–३ का ४९ वर्षीय मनकुमार विश्वकर्मा सामान्य घाइते भएका छन् । दुवै जना चालकको उपचार जारी छ भने दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पैदलयात्रीले जथाभावी सडक पार गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।