नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिँदै एसिया कपमा छनोट हुन असफल भएको छ ।
एशियाली खेलकुदमा छनोट हुन नसकेको दशौँ दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन नसकेको हो । आज बिहान मलेसियाको वायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भएको छ ।
थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले अविजित २० रन बनाइन् भने सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रनको योगदान दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।
यसै महिना मलेसियामा नै भएको खेलमा नेपाल चीनसँग पराजित हुँदै एसियन गेम्स छनोटबाट पनि बाहिरिएको थियो। एसियन गेम्स यसैवर्ष जापानमा हुँदैछ।