उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा आगलागी हुँदा जलेर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ७० वर्षीय लक्ष्मीनारायण खड्का र लक्ष्मीनारायणका नाति ३० वर्षीय पवन खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गएराति लक्ष्मीनारायणको घरबाट आगो सल्किएको थियो । आगोले लक्ष्मीनारायणसहित रबिनकुमार दास र सकलदेवको घर पनि जलेको छ । अरू केही पसल पनि जलेका छन् । थप क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा आज बिहान आगो निभाइएको छ । विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।