राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने विधानको विद्यमान व्यवस्थालाई संशोधन गर्ने भएको छ। हालको विधानमा सम्पूर्ण साधारण सदस्यहरूले मतदान गरेर संसदीय दलको नेता छान्ने प्रावधान रहे पनि त्यसलाई अव्यावहारिक ठहर गर्दै पार्टीले परिवर्तन गर्न लागेको हो।
रास्वपाको विधानको धारा ६६ को उपधारा ८ (ख) मा संसदीय दलको नेता चयन गर्न पार्टीका सबै साधारण सदस्य मतदाता हुन पाउने उल्लेख छ। सहप्रवक्ता प्रतिभा रावलका अनुसार यो प्रक्रिया प्राविधिक र व्यावहारिक रूपमा कठिन हुने भएकाले विधानलाई समयानुकूल बनाउन लागिएको हो। अब प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरूमध्ये बहुमत पाउनेलाई दलको नेता चयन गर्ने गरी नयाँ विधि बनाइनेछ।
पार्टीले संसदीय दलको नेताका रूपमा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई अघि सार्ने तयारी गरेको छ। रास्वपा र काठमाडौंका तत्कालीन मेयर शाहको समूहबीच एकता हुँदा भएको सात बुँदे सहमति अनुसार नै शाहलाई भावी प्रधानमन्त्री र संसदीय दलको नेता बनाउन लागिएको हो।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी १८२ सिटसहित दुईतिहाइ नजिकको शक्ति प्राप्त गरेको छ। समानुपातिक तर्फका सांसदहरूको अन्तिम नामावली टुङ्गिएपछि विधान संशोधन गरी शाहलाई दलको नेता चयन गर्ने प्रक्रिया अघि बढ्ने प्रवक्ता रावलले बताइन्।