.

विद्यार्थीको क्षमता विकासका लागि नयाँ परियोजना

सामाजिक कार्यका विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि पूर्वाञ्चल विश्वविद्यालयमा ‘नेपालमा सामाजिक विकास अभ्यास सुदृढीकरण’ परियोजना सुरु भएको छ।

युरोपियन युनियनको सहयोगमा सञ्चालित यो परियोजनाले विशेषगरी उच्च शिक्षाको क्षेत्रमा क्षमता विकास गर्ने लक्ष्य राखेको छ। सन् २०२६ को जनवरीदेखि सुरु भएको यो परियोजना सन् २०२८ सम्म सञ्चालन हुनेछ।

यसमा चेक रिपब्लिकको ओष्ट्राभा विश्वविद्यालय, स्पेनको राष्ट्रिय दूर शिक्षा विश्वविद्यालय र फिनल्याण्डको इष्टर्न फिनल्याण्ड विश्वविद्यालयले सहकार्य गरेका छन्।

यो कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालयसँगै त्रिभुवन र मध्यपश्चिम विश्वविद्यालयमा पनि एकैसाथ अघि बढाइएको छ। परियोजनाले सामाजिक कार्यका ३० जना प्राध्यापकहरूलाई प्रशिक्षकका रूपमा तयार पार्ने र उनीहरूमार्फत देशभरका ६ सय जना विद्यार्थीहरूको क्षमता विकास गर्ने लक्ष्य राखेको छ। परियोजनाका स्रोत व्यक्तिहरू स्पेनका प्राध्यापक डा. एन्टिनो लोपेज र डा. इनेश मार्टिनेजले माघ १२ गते विद्यार्थी र प्राध्यापकहरूसँग छलफल गरे।

मंगलबार उनीहरूले विराटनगरस्थित बालसुधार गृह, सिविन नेपाल र रिचमण्ड फेलोसिपको भ्रमण गरी त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

छलफलका क्रममा नेपालमा सामाजिक कार्य शिक्षाका चुनौती, पाठ्यक्रममा गर्नुपर्ने सुधार र अवसरका विषयमा कुराकानी भएको थियो।

अन्तरक्रियामा कोशी प्रदेशका विभिन्न मन्त्रालय, विराटनगर महानगरपालिका र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया