.

विराटनगरका निजी ठुला अस्पतालमा बीमा सेवा बन्द , कोशी अस्पतालले विरामी थेग्न सक्ला ?

सरकारले निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि विराटनगरमा रहेको कोशी अस्पतालमा बिरामीहरूको अत्यधिक चाप बढ्न थालेको छ । बिरामीको भीड बढेसँगै सेवाग्राही मात्र होइन, चिकित्सक र अस्पताल कर्मचारीसमेत समस्यामा परेका छन् ।

यसअघि विराटनगरका नोबेल अस्पताल, हाम्रो अस्पताल तथा बुढीगंगास्थित विराट टिचिङ अस्पतालमार्फत स्वास्थ्य बीमा सेवा उपलब्ध हुँदै आएको थियो । तर, जेठ १६ गतेदेखि सरकारले निजी अस्पतालमा बीमा सेवा रोकेपछि अहिले सरकारी अस्पतालहरूमा बिरामीको चाप ह्वात्तै बढेको हो । बस्ने ठाउँको अभाव भएपछि कतिपय बिरामी भुइँमै बस्न बाध्य थिए । बिरामीहरूले चिकित्सक समयमै उपलब्ध नहुने तथा बीमा सेवा कोशी अस्पतालमै सीमित हुँदा थप सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

अस्पतालमा अत्यधिक भीडका कारण चोरीका घटना समेत हुने गरेको छ । अस्पताल प्रशासनले माइकिङमार्फत बिरामी तथा आफन्तलाई आफ्ना सामानको सुरक्षा गर्न बारम्बार सचेत गराउँदै आएको छ । यता अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेले बिरामीको चाप अत्यधिक बढेकै कारण व्यवस्थापनमा चुनौती थपिएको स्वीकार गरे । उनका अनुसार निजी अस्पतालमा बीमा सेवा बन्द भएसँगै कोशी अस्पतालमा बिरामीको संख्या झण्डै दोब्बर पुगेको छ ।

सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गर्नुका साथै सातामा दुई दिन सार्वजनिक बिदा लागू गरिएकाले पनि सरकारी अस्पतालहरूमा थप भीड बढेको सर्वसाधारणको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया