नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले वालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन पेस गर्न आदेश दिएको छ ।
न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार पन्थी कार्यदलको प्रतिवेदन पेस गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई आदेश दिएको हो । १४ वैशाखमा अदालतले शरणार्थी प्रकरणसँग सम्बन्धित कागजातहरु पेस गर्न आदेश दिएकामा पन्थी कार्यदलको प्रतिवेदनका अनुसूचीहरु नबुझिने अवस्थामा भेटिएपछि ‘बुझिने’ अवस्थाको प्रतिवेदन पेस गर्न अदालतबाट आदेश भएको अधिकृत हेमन्त भट्टराईले जानकारी दिए । उनका अनुसार यस प्रकरणमा अब नियमित सुनुवाइका लागि अंग पुगेको र माग भएको प्रतिवेदन आएपछि पेसी तोकेर अघि बढ्ने बताए ।
शरणार्थी प्रकरणको मुद्दा ३ वर्षदेखि अदालतमै विचाराधीन छ । २४ भदौको जेन–जी आन्दोलनका बेला जिल्ला अदालत काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको भवन जलेपछि त्यहाँका मिसिल तथा कागजातहरु पनि जलेर नष्ट भएका थिए । नष्ट भएका मिसिलहरुलाई पुनः खडा गरी अदालतले सुनुवाइ प्रक्रिया अघि बढाएकामा पछिल्लो पटक गत साता यससँग सम्बन्धित कागजातहरु पेस गर्न आदेश दिएको थियो ।