स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरूलाई आइतबारको सार्वजनिक बिदाको दिन पनि ओपीडी (बहिरंग)सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पतालको कार्यबोझ र उपलब्ध जनशक्तिको मूल्यांकन गरी आइतबार ओपीडी सेवा सुचारु गर्न भनेको हो।
मन्त्रालयको निर्णय अनुसार अब अस्पतालहरूले आइतबार सेवा दिँदा कर्मचारीहरूको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेछ। आइतबार काम गर्ने कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी कुल दुई दिन बिदा दिने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संघीय अस्पतालका साथै प्रादेशिक अस्पतालहरूमा पनि यो व्यवस्था मिलाउन आग्रह गरिएको जानकारी दिए। सरकारको यो निर्णयसँगै आइतबारको बिदाका कारण स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएका सर्वसाधारणलाई राहत पुग्ने विश्वास गरिएको छ।