विराटनगर, ६ साउन । पशुचौपायामा फैलिरहेको लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत सकारात्मक देखिएको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपंक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्पी स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो ।
मुख्यगरी नेपाल र भारतका सीमावर्ती जिल्लामा दुई देश मिलेर लम्पी स्किन रोगको भ्याक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
यस्तै खोरेत रोग उन्मूलनका लागि पनि भारतसँग सहकार्य हुने मन्त्री भुसालले बताउनुभएको छ । त्यसका लागि दुवै देशको सरकारी पक्षबाट आवश्यक काम अगाडि बढाउने सहमति भएको छ । भारतले गाई र च्याङ्ग्राको नश्ल सुधारका लागि उन्नत पशु नेपाललाई दिने भएको छ । गाईको गिर र साइवाल गाईको उन्नत जात नेपाललाई दिने भारतीय पशुपंक्षीमन्त्री रुपालाले प्रतिबद्धता जनाउनुभएको छ ।