.

जनस्वास्थ्यको प्रमुख समस्या बन्दै सडक दुर्घटना, हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्दो

नेपालका सडकहरू दिनानुदिन झन् असुरक्षित बन्दै गएका छन् । पछिल्ला तथ्यांकले सडक दुर्घटना हरेक वर्ष औसत ५.४ प्रतिशतका दरले बढिरहेको देखाएको छ, जसले जनस्वास्थ्यमा गम्भीर चुनौती थपेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले यो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरे । कार्यक्रममा स्वास्थ्य मन्त्री डा.गौतमले सडक दुर्घटनालाई देशकै प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक भएको उल्लेख गर्दै विशेष गरी जेन–जी युवा पुस्ता सबैभन्दा बढी प्रभावित भइरहेको बताइन् । उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायबीच प्रभावकारी समन्वय र नागरिकस्तरको सचेतना अत्यावश्यक रहेकोछ ।

सन् २०२१ को प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब आठ हजार मानिसले सडक दुर्घटनाका कारण ज्यान गुमाएकाछन् । यो सङ्ख्या दक्षिण एसियाली औसतभन्दा झण्डै दोब्बर हो । दुर्घटनाका कारण नेपालले वार्षिक करिब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोर्दै आएको छ, जुन कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब ७ प्रतिशत बराबर हो ।

हालकै दरमा दुर्घटना बढिरहे सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्युदर आधा घटाउने सरकारी लक्ष्य निकै चुनौतीपूर्ण देखिएको छ  ।सडक सुरक्षामा लगानी, कडाइका साथ कानुन कार्यान्वयन र नागरिक सचेतना–यी तीनै पक्षमा सुधार नगरे नेपालका सडकहरू अझै पनि जोखिमको प्रतीक बन्ने विज्ञहरूको चेतावनी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया