आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘अवरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने नाराका साथ आज ३८ औँ विश्व एड्स दिवस मनाइँदैछ ।
हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गरेकी छन् ।
उनले सन् २०३० सम्ममा एचआइभीको विश्वव्यापी मान्यताअनुसार ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ ।
राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित छन् ।
असुरक्षित यौनसम्पर्क, एचआइभी सङ्क्रमित रगतको प्रयोग, रगतबाट बनेका पदार्थ तथा अङ्ग लिँदा, सुईको साझा प्रयोग, सङ्क्रमित आमाबाट बच्चामा एचआइभी सर्न सक्ने भएकाले सचेतना अपनाउन डाक्टरको सुझाव छ ।