नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा आपत्ति जनाएको छ ।
एसोसिएशनले आज विज्ञप्ति निकालेर अस्ति मङ्सिर १० देखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्ने गरी स्वास्थ्य शुल्क बढाएकोमा आपत्ति जनाएको हो ।
सरकारले यूएईको हकमा ४ हजार ५०० बाट दोब्बर बढाएर ९ हजार ५०० र अन्य देशको हकमा ६ हजार ५०० बाट ९ हजार ५०० रुपैयाँ पुर्याएको छ । शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको एसोसिएशनका अध्यक्ष दीपक थापाले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै खाडी तथा मलेशिया जाने कामदारका लागि १० हजार सेवा शुल्क तोकेको अवस्थामा स्वास्थ्य परीक्षण शुल्क नै ९ हजार ५०० रुपैयाँ लिनु गम्भीर आपत्तिको विषय भएको अध्यक्ष थापाले बताउनुभयो ।
रोजगारीका लागि विशेषगरी मलेशिया र खाडीका देश जाने नेपाली अतिविपन्न अवस्थामा रहेकाहरू हुने गरेको एसोसिएशनले जनाएको छ । एसोसिएशनले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार हुने गरी गरिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तत्काल फिर्ता लिन मागसमेत गरेको छ ।
उता स्वास्थ्य व्यवसायीहरूले अस्तिदेखि नै बढेको शुल्कमा स्वास्थ्य परीक्षण थालेका छन् ।