वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण सेवामा गुणस्तरीय सुधार ल्याउन मंगलबारदेखि सूचीकृत स्वास्थ्य संस्थामा ३४ प्रकारको स्वास्थ्य परीक्षण सुरु गरिएको छ।
यसका लागि नयाँ शुल्क ९ हजार ५ सय रुपैयाँ तोकिएको छ। वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परिक्षण कार्य सुधारका लागि गठित स्वास्थ्य मन्त्रालयका तत्कालीन अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको नेतृत्वमा ३० सदस्यीय उच्चस्तरीय विशेषज्ञ कार्यदलले स्वास्थ्य परीक्षणका सामग्री थप, ल्याब सुधार र परीक्षणको दायरा विस्तार गर्न सिफारिस गरेको थियो।
यस प्रतिवेदनअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणको दायरा विस्तार र शुल्क निर्धारण गरेको जनाएको छ।
स्वास्थ्य संस्थाको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ र गाम्का नेपालको संयुक्त बैठकले सरकारले थप गरेको परीक्षण अनिवार्य कार्यान्वयन गर्ने निर्णय गरेको छ।