.

नेपालमा डेङ्गु देखापरेको १९ वर्षपछि सरकारले बनायो रोकथाम र नियन्त्रणको कार्ययोजना

विराटनगर , ३ साउन ।नेपालमा डेङ्गु देखापरेको १९ वर्षपछि सरकारले कार्ययोजना बनाएर लागू गरेको छ ।अहिलेसम्म रोग नियन्त्रणका कार्यक्रम गर्दै आएको भएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाएर लागू गरेको यो पहिलो पटक हो ।डेङ्गु नियन्त्रणका लागि वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.रुद्र मरासिनीले जानकारी दिनुभयो ।धेरै जोखिम रहेका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको उहाँको भनाइ छ ।सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, पालिका तथा  रेडक्रसलगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भूमिकाका बारेमा स्पष्ट पारिएको छ ।डा. मरासिनीका अनुसार नेपालमा सन् २००४ देखि अहिलेसम्म १९ वर्षको अवधिमा ८३ हजार ६ सय ८१ जनामा डेङ्गीको संक्रमण भएको छ ।

यसवर्ष असारसम्ममा २ हजार ९ सय ३० जनामा संक्रमण देखिएको छ । डेङ्गुको संक्रमण रोकथामका लागि संघ, प्रदेश र पालिकाबिच समन्वय भइरहेको पनि उहाँको भनाइ छ ।

सरकारको प्राथमिकतामा लामखुट्टे बस्ने ठाउँ खोजी र नष्ट, घरआँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँ पहिचान गरी सरसफाइ गर्ने रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले मनसुनसँगै डेङ्गुका बिरामीको संख्या पनि बढेको बताउनुभयो । डेङ्गु एक जना संक्रमित बिरामीबाट अर्काे बिरामीमा लामखुट्टेको माध्यमबाट सर्ने गर्छ ,सरकार अहिले डेङ्गु रोकथाममा गम्भीर भएर लागेको बताउनुभयो ।डेङ्गु संक्रमण भएमा ज्वरो आउने, टाउको जीउ दुख्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ । यस्ता लक्षण देखिएमा अस्पताल जान र रगत जाँच गर्न तथा डाक्टरको सल्लाह अनुसार घरमै आराम या उपचार गर्न पनि डा.को सुझाव छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया