विराटनगर,११ असार ।नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे जनचेतना फैलिएकाले सेवनकर्ता विस्तारै घट्दै गएको सरकारले सार्वजनिक गरेको विभिन्न तथ्याङ्कले देखाएको छ।सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेजिङमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने र धूमपान तथा सुर्तीजन्य पदार्थले फोक्सोको क्यान्सर हुन्छ भन्ने चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने उल्लेख गरिएको छ। सोही चित्रका कारण पनि कतिपयले सुर्तीजन्य पदार्थको सेवन नगरेको पाइएको छ ।
सरकारले यही असार ८ गते सार्वजनिक गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ मा विगतभन्दा सुर्तीजन्य पदार्थको सेवनमा कमी आएको देखाइएको छ । सर्वेक्षणमा पुरुषको तुलनामा महिलामा सुर्तीजन्य पदार्थको सेवन एकदमै कम मात्रामा हुने गरेको छ ।
सर्वेक्षणअनुसार १५ देखि ४९ वर्ष उमेरका २८ प्रतिशत पुरुष र पाँच प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्दछन्। सोही स्वास्थ्य सर्वेक्षणअनुसार २००१ मा सुर्तीजन्य पदार्थको सेवन गर्ने ४५ प्रतिशत पुरुष र २३ प्रतिशत महिला रहेका थिए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव नौ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । पन्ध्रदेखि ६९ वर्ष उमेर समूह ४८ दशमलव तीन प्रतिशत पुरुष र ११ दशमलव छ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन्। ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुर्तीजन्य पदार्थ नियमन तथा स्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख डा. भक्त केसी सन् २०१९ र २०२२ मा सार्वजनिक भएको तथ्याङ्कले सुर्तीजन्य पदार्थको सेवनमा कमी आएको बताउँछन्। । उनी सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने हानिका बारेमा मानिसमा आएको जनचेतनाका कारणले सुर्तीजन्य पदार्थको सेवन घट्दै गएको बताउँछन्। । सन् २०१५ मा एक्सन नेपालले गरेको अध्ययनमा पनि सुर्तीजन्य पदार्थको बट्टामा राखिएको चित्रका कारणले दैनिक ११ वटा खिल्ली खाने मानिसले पाँचवटा खिल्ली चुरोट सेवन गर्ने गरेको उल्लेख गरिएको छ।