जेनजी आन्दोलनका क्रममा भौतिक संरचना खरानी भए पनि यातायात व्यवस्था कार्यालय (सवारी), सुनसरीले सेवा प्रवाह र राजस्व संकलनमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । कार्यालयले पछिल्लो पाँच महिनामा मात्रै ३९ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको हो ।
कार्यालय प्रमुख मानबहादुर देवकोटाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस १ गतेसम्म कुल ३९ करोड ४७ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
आन्दोलनपछिको असहज परिस्थितिमा पनि कार्यालयले करिब २० करोड रुपैयाँ राजस्व उठाएको छ ।कार्यालयले सवारीसाधन करतर्फ ३३ करोड ३६ लाख रुपैयाँ, यातायात क्षेत्रको आम्दानीतर्फ १९ करोड ८ लाख रुपैयाँ, चालक अनुमति पत्र, दर्ता किताब दस्तुरतर्फ ४ करोड १२ लाख रुपैयाँ र व्यवसाय रजिस्ट्रेसनतर्फ ३६ हजार रुपैयाँ संकलन गरेको छ ।
आन्दोलनका क्रममा भएको आगलागीमा कार्यालयका करिब ९५ प्रतिशत सवारीसाधनका अभिलेख जलेर नष्ट भएका छन् । ट्रयाक्टर शाखा बाहेक अन्य करिब १२ लाख सवारीसाधनको अभिलेख नष्ट भएको जनाइएको छ । ब्लुबुक र अन्य महत्वपूर्ण कागजात जलेका कारण अहिले सेवाग्राही र कर्मचारी दुवैले दोहोरो झमेला खेप्नुपरेको छ ।
कार्यालयको आफ्नै भवन नभएका कारण अहिले त्रिपाल र अस्थायी कोठाहरूबाट सेवा दिइँदै आएको छ । दैनिक १ हजारभन्दा बढी सेवाग्राही आउने यस कार्यालयमा उभिएरै काम गर्नुपर्ने बाध्यता छ ।
कर्मचारी र सेवाग्राही दुवैले धुलो र साँघुरो ठाउँका कारण सास्ती भोगिरहेका छन् ।कागजात जलेपछि देखिएको कानुनी जटिलता हटाउन प्रदेश सरकारले कात्तिक १७ गते ुबाधा अड्काउ फुकाउु जारी गरेको छ ।
जसअनुसार जरिवानामा छुटदेखि स्थानीय तहको मुचुल्का वा सर्जिमिनका आधारमा नयाँ ब्लुबुक र कागजात बनाउने सुविधा दिइएको छ ।
यद्यपि, कागजात प्रमाणित गरेर ल्याउनुपर्ने प्रक्रियाले सेवाग्राहीलाई थप समय र झन्झट लाग्ने गरेको छ ।चुनौतीका बाबजुद कार्यालयले ब्लुबुक नवीकरण, सवारी दर्ता र कर संकलनलाई निरन्तरता दिइरहेको छ ।