.

जुलाई, एक लाख २० हजार वर्षयताकै गर्मी महीना हुन सक्ने

विराटनगर ,१२ साउन । बीबीसीका अनुसार केही विज्ञले यो जुलाई विगत एक लाख २० हजार वर्ष यताकै गर्मी महीना हुन सक्ने विश्वास गरेका छन्।

वैज्ञानिकहरूका अनुसार यो जुलाई हालसम्मकै गर्मी महीना हुने करीब निश्चित भएको छ। महीना सकिन केही दिन अझै बाँकी भए पनि अनुसन्धाताहरूका अनुसार यो जुलाईले यसअघि सन् २०१९ को जुलाईको कीर्तिमान पनि भङ्ग गर्दै छ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार यो जुलाईको पहिलो २५ दिनको औसत तापमान १६।९५ डिग्री सेल्सियस रहेको छ। जबकि सन् २०१९ मा पूरै महीनाभरको औसत तापमान १६।६३ डिग्री सेल्सियस रहेको थियो।

यस्तै, यही ६ जुलाईमा हालसम्मकै गर्मी दिन मापन गरिएको थियो। त्यस दिन औसत विश्वव्यापी तापमान १७।०८ डिग्री सेल्सियस मापन गरिएको थियो। र, हालसम्मकै अत्यधिक गर्मी २३ दिन पनि यही महीनाकै थिए।

पृथ्वीमा हालसम्म मापन भएको अत्यधिक गर्मी ३० दिनहरू। तस्वीरस् कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस र ई सी एम डब्लू एफ

वैज्ञानिकहरूका अनुसार चर्को गर्मी मुख्यतः जीवाश्म इन्धनको प्रयोगसँग गाँसिएको छ।

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले पृथ्वी ‘विश्वव्यापी उमालको युग’मा प्रवेश गरेको बताएका छन्। यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन अस्तित्वमाथिको खतरा भएको र यसको प्रभावलाई अब कसैले पनि नकार्न नसक्ने बताए।

बीबीसीका अनुसार केही विज्ञले यो जुलाई विगत एक लाख २० हजार वर्षयताकै गर्मी महीना हुन सक्ने विश्वास गरेका छन्।

यद्यपि जुलाईले चर्को गर्मीको कीर्तिमान भङ्ग गर्दा पनि अनुसन्धाताहरू चकित भने छैनन्। किनकि विश्वले अझ उखरमाउलो गर्मी भोग्ने पर्याप्त सङ्केतहरू केही सातायता देखापरिसकेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया