.

फिलिपिन्समा ऊर्जा संकटः राष्ट्रपति मार्कोसद्वारा राष्ट्रिय आपतकाल घोषणा

फिलिपिन्स सरकारले देशमा राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गरेको छ । पश्चिम एसियामा बढ्दो सैन्य द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा ‘तत्काल खतरा’ देखिएको भन्दै राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले यस्तो निर्णय लिएका हुन् ।


राष्ट्रपति मार्कोसले मंगलबार जारी गरेको कार्यकारी आदेशमा विश्व ऊर्जा बजारमा देखिएको अनिश्चितता, आपूर्ति शृङ्खलामा अवरोध र तेलको मूल्यमा भएको तीव्र उतारचढावले देशको ऊर्जा सुरक्षामा गम्भीर असर पार्न सक्ने उल्लेख छ । यो आपतकाल एक वर्षसम्म लागू रहनेछ । यस अवधिमा सरकारले इन्धन आपूर्ति सहज बनाउन आवश्यक परेमा अग्रिम भुक्तानी गरेरै पनि पेट्रोलियम पदार्थ खरिद गर्न सक्ने विशेष अधिकार प्रयोग गर्नेछ ।

ऊर्जामन्त्री शेरोन गारिनका अनुसार हाल फिलिपिन्ससँग करिब ४५ दिनलाई पुग्ने इन्धन मौज्दात छ । सरकारले भण्डारण बढाउन दक्षिण–पूर्वी एसियाका विभिन्न देशबाट १० लाख ब्यारेल तेल खरिद गर्ने तयारी गरिरहेको उनले बताए । यद्यपि, अन्तर्राष्ट्रिय बजारको अस्थिरताका कारण आगामी खरिद प्रक्रिया चुनौतीपूर्ण हुन सक्ने चेतावनी समेत उनले दिएका छन् ।

सरकारले आपतकालीन अवस्थाको सामना गर्न एक उच्चस्तरीय समिति समेत गठन गरेको छ । यस समितिले इन्धनका साथै खाद्यान्न, औषधि र कृषि उत्पादन जस्ता अत्यावश्यक वस्तुको आपूर्ति र वितरण सुनिश्चित गर्नेछ । यस्तै, राष्ट्रपति मार्कोसले अर्थ मन्त्रालय र केन्द्रीय बैंकलाई पश्चिम एसियाको द्वन्द्वले फिलिपिन्सको मुद्रा (पेसो) र वैदेशिक आम्दानी (रेमिट्यान्स) मा पार्न सक्ने प्रभावबारे नजिकबाट निगरानी गर्न निर्देशन दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया