इरानसँग परमाणु कार्यक्रमबारे आज हुने दोस्रो चरणको वार्तामा अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने भएका छन्। राष्ट्रपति ट्रम्पले जेनेभामा इरान र वाशिंगटनबीच हुने उच्च दांवयुक्त आणविक वार्ताको दोस्रो चरणमा आफू अप्रत्यक्ष रूपमा संलग्न हुने बताएका छन्।
सोमबार एयरफोर्स वानमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले आफू सो वार्तामा अप्रत्यक्ष रूपमा सहभागी हुन लागेको बताएका हुन्। ट्रम्पले पछिल्लो समय इरान पनि सम्झौता गर्ने पक्षमा रहेको बताएका छन्। वार्ताका लागि अमेरिकाबाट राष्ट्रपति ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ट्रम्पकै ज्वाँइ ज्यारेड कुश्नर सहभागी हुनेछन्। वार्ताकै लागि इरानका विदेशमन्त्री अब्बास अराक्ची सोमबार नै जेनेभा पुगिसकेका छन्।
तेहरानसँग वार्ता विफल भए वासिङ्टनले इरानमा सैन्य कारबाही गर्ने लगभग पक्का भएको अमेरिकी अधिकारीहरुले बताएका छन्। यसअघि ओमानको मस्कटमा अमेरिका र इरानबीच पहिलो चरणको वार्ता भएको थियो। उक्त वार्तामा ठोस सहमति नभएपछि दोस्रो चरणको वार्ता हुन लागेको हो। हालै अमेरिकी सेनाले अर्को युद्धपोत ’जेराल्ड फोर्ड’ मध्यपूर्व क्षेत्रमा तैनाथ गरिसकेको कुरा पनि सार्वजनिक भएको छ।
क्यारेबियन क्षेत्रमा यसअघि नै अमेरिकी युद्धपोत अब्राहम लिंकन तैनाथ छ। कुटनीतिक तवरबाट इरानसँगको विवाद समाधान नभए अमेरिकाले सैन्य हमला अर्को विकल्प हुन सक्छ भनेर बारम्बार धम्की दिँदै आएको छ।
इरानलाई दबाब दिनकै लागि अमेरिकाले अर्को लडाकू विमानबाहक युद्धपोत र ठूलो संख्यामा सेना र हातहतियार मध्यपूर्व क्षेत्रमा तैनाथ गर्ने धम्की दिएको थियो। इरानले पनि अमेरिकाले सैन्य आक्रमण गरिहाले मध्यपूर्वमा रहेको उसका सैन्य अड्डाहरूलाई निशाना बनाउने चेतावनी दिएको थियो।
यसै क्रममा दोस्रो चरणको वार्ता हुने तय भएको हो। वार्ताको एजेन्डामा तेल तथा ग्यास क्षेत्र, संयुक्त खानी लगानी र विमान खरिदका विषयहरुलाई समेटिएको छ ।
सन् २०१५ मा इरान र विश्व शक्तिहरूबीच भएको परमाणु सम्झौताले इरानलाई विश्व बजारमा सहभागी गराउन र आर्थिक लाभ दिनुपर्ने उद्देश्य राखेको थियो। तर अमेरिकाले पर्याप्त आर्थिक लाभ नपाएको दाबी गर्दै २०१८ मा ट्रम्प प्रशासनले इरानमाथि कडा आर्थिक प्रतिबन्ध पुनः लागू गरेको थियो। यस कारणले दुई देशबीच पहिलो चरणको वार्ता असफल भएको थियो।