.

भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण ः पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार ठूलो महत्त्वाकांक्षी योजनाहरूसहितको संघीय बजेट २०२६–२७ प्रस्तुत गरिरहेकी छन् । भारतीय इतिहासमा पहिलो पटक बिदाका दिन आइतबार उनले बजेट प्रस्तुत गरेकी हुन् ।

अर्थमन्त्री सीतारमणले आगामी आर्थिक वर्ष २०२६÷२७ लागि पूँजीगत खर्च बढाएर १२२ खर्ब भारु (१२.२ लाख करोड भारु) पुर्याएकी छिन् । यो अघिल्लो आर्थिक वर्षको ११२ खर्ब भारुको तुलनामा उल्लेख्य वृद्धि हो ।

सरकारले यस बजेटलाई उत्पादकत्व बढाउने र विश्वव्यापी प्रतिस्पर्धामा भारतलाई अगाडि उभ्याउने ‘३ कर्तव्य’ मा आधारित रहेको बताएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४७ सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यका साथ कडा निर्णयहरू लिन सरकार नहिचकिचाउने बताएका थिए ।

आगामी आर्थिक वर्षको बजेटले भारतको यातायात सञ्जालमा ठूलो परिवर्तन ल्याउने गरी ७ वटा नयाँ हाई–स्पिड रेल कोरिडोर घोषणा गरेको छ । यसमा मुम्बई–पुणे र चेन्नई–बेङ्गलुरुजस्ता प्रमुख शहरहरू समेटिएका छन् ।यसका साथै, ओडिस, केरला, आन्ध्र प्रदेश र तमिलनाडुलाई जोड्ने गरी एउटा समर्पित ‘रेयर अर्थ कोरिडोर’ निर्माण गर्ने घोषणा गरिएको छ,

।बजेटले साना तथा मझौला उद्योग, कृषि अनुसन्धान र नवीकरणीय ऊर्जा क्षेत्रका लागि पनि विभिन्न सहुलियत र योजनाहरू अघि सारेको छ ।अर्थमन्त्री सीतारमणले लगातार नवौं बजेट संसदमा प्रस्तुत गरेकी हुन् । भारतले सन् २०१७ देखि रेल बजेटलाई छुट्टै पेश नगरी संघीय बजेटमै समावेश गर्दै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया