भारतमा नागरिकताबारे संशोधित कानुनको विरोधमा परेका मुद्दामा आज सुनुवाई
६ चैत २०८०, मङ्गलवार
0
प्रतिक्रिया
विराटनगर , चैत ६ ।भारतमा नागरिकताबारे संशोधित कानुन देशभर लागू हुने भएपछि त्यसको विरोधमा परेका मुद्दामा आज सुनुवाई हुँदैछ । केन्द्रीय सरकारले सीएए नामको नागरिकता संशोधन ऐनका नियमहरू जारी गरेसँगै नागरिकता संशोधन ऐन (सीएए) लागू भएपछि त्यसमाथि प्रतिबन्ध लगाउन माग गर्दै परेका २ सय ३० वटा मुद्दामा सुनुवाइ हुन लागेको हो ।
यी मुद्दामा सर्वाेच्च अदालतमा निर्णय नभएसम्म सीएएको नियमहरूमा रोक लगाउन केन्द्र सरकारलाई निर्देशन दिन माग गरिएको बीबीसी हिन्दीले जनाएको छ । गएको हप्ता इन्डियन युनियन मुस्लिम लिगका वकिल तथा पूर्व केन्द्रीय मन्त्री कपिल सिब्बलले जतिसक्दो चाँडो सुनुवाइ गर्न अनुरोध गर्नुभएको थियो ।सिब्बलले प्रवासी हिन्दूहरूले एकपटक नागरिकता पाएपछि यसलाई खोस्न नसकिने भएकाले यस विषयमा जतिसक्दो चाँडो सुनुवाइ हुनुपर्ने बताउनुभयो । गएको मार्च ११ मा नागरिकताबारे संशोधित कानुन देशभर लागू भएको थियो । त्यसपछि पछिल्लो एक हप्तामा धेरैलाई भारतीय नागरिकता दिइएको छ ।
यो कानुनअन्तर्गत सन् २०१४ को डिसेम्बर ३१ भन्दा पहिले पाकिस्तान, बङ्गलादेश वा अफगानिस्तानबाट भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र ईसाई समुदायका मानिसलाई भारतको नागरिकता दिइने बीबीसी हिन्दीले जनाएको छ । भारत सरकारले मुस्लिमबाहेक अरू धर्मका आप्रवासीलाई नागरिकता दिन बनाएको कानुनको विभिन्न राज्यमा विरोध भईरहेको छ ।