.

प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण

प्रतिनिधि सभाको बिहीवारको बैठकको ‘शुन्य समय’ मा सांसदहरूले मुलुकको पछिल्लो सुरक्षा अवस्था, धार्मिक सद्भाव, दैवीप्रकोप र सरकारको कार्यशैलीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बोल्दै सांसद अप्सना बानुले सुनसरी लगायतका क्षेत्रमा पछिल्लो समय भएका हिन्दु र मुस्लिम समुदायबीचको झडपप्रति चिन्ता व्यक्त गरे ।

उनले समाजमा शान्ति कायम गर्न गोली प्रहार गर्ने कार्य समाधान नभएको उल्लेख गर्दै प्रशासनलाई सामाजिक चेतना र संयमता अपनाउन आग्रह गरे । साथै, सुनसरीको देवानगन्ज र कप्तानगञ्जमा भएको धार्मिक द्वन्द्वलाई संवाद र सहकार्यका माध्यमबाट समाधान गर्न उनले जोड दिए । सांसद इन्दिरा राना मगरले सुनसरी घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिन् । 

सांसद आशिका तामाङले नेपालको सीमा क्षेत्रलाई सुरक्षित बनाउन पर्खाल वा काँडेतार लगाएर सुरक्षा निकाय परिचालन गर्न माग गरिन् । संसदीय प्रक्रिया र सरकारको उपस्थितिबारे बोल्दै सांसद अर्जुन नरसिंह केसीले मुलुकमा बढ्दो आत्महत्या, महँगी र आर्थिक मन्दी जस्ता गम्भीर विषयमा सरकार संवेदनशील नदेखिएको टिप्पणी गरे ।

प्राकृतिक प्रकोपका विषयमा बोल्दै सांसद डा.अर्जुनकुमार कार्कीले हालैको वर्षा र पहिरोका कारण संखुवासभाको सिलिचोङ र धर्मदेवी नगरपालिकाका विद्यालयहरूमा भएको क्षतिबारे जानकारी गराए ।

उनले क्षतिग्रस्त विद्यालयहरूको तत्काल पुनर्निर्माण, स्थानान्तरण र विद्यार्थीका लागि शैक्षिक सामग्रीको व्यवस्था गर्न माग गरे ।

बैठकमा सांसदहरूले जनजीविकासँग जोडिएका विविध मुद्दाहरूमा सरकारको सक्रियता र जवाफदेहिताको माग गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया