.

साफ यू–१९ च्याम्पियनसिपको तयारी पूरा, टिकट मूल्य १०० र ३००

विराटनगर ,२ असोज ।आउदो बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो ।


एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउन क्रममा रहेको बताउनुभयो । भुटान र बंगलादेशको टिम आइसकेको छ भने भारत र माल्दिभ्सको टोली आज आउनेछन् । पाकिस्तान भने भोलि आइपुग्ने एन्फाले जनाएको छ ।


साउथ एसियन फुटबल फेडेरेसन ९साफ० को कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।


आयोजक नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ए छन् भने साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान समूह बी मा छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।


गत वर्ष भारतको भुवनेश्वरमा भएको च्याम्पियनसिपमा पाकिस्तान र भुटान बाहेक ५ टिम सहभागी थिए र सिंगल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भएको थियो । यस पटक पाकिस्तान र भुटान च्याम्पियनसिपमा सहभागी छन् भने श्रीलंका सहभागी छैन ।


च्याम्पियनसिपको यो पाँचौ संस्करण हो । सन् २०१५ मा नेपालबाटै सुरु भएको यस च्याम्पियनसिपमा नेपाल र भारतले समान २ पटक उपाधि जितेका छन् ।


नेपालले तेस्रो पटक साफ यू–१९ च्याम्पियनसिप आयोजना गर्न लागेको हो । २०१९ मा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।


जियारथ शेखको कप्तानीमा रहेको नेपाली टोलीले यस पटक घरेलु मैदान उपाधि जित्दै विगतको प्रदर्शनलाई दोहोर्‍याउने लक्ष्य राखेको छ ।


प्रतियोगिताका निर्देशक सञ्जिव मिश्रले प्रतियोगिताको सफल आयोजना गर्दै कम्तीमा फाइनलसँग पुग्ने लक्ष्य रहेको बताउनुभयो । प्रतियोगिताको लागि भीआईपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ २०० टिकट मूल्य राखिएको छ ।


यस्तै, खेलहरु स्पोर्ट्जवर्कजको युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुने छ । सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।


च्याम्पियनसिपको बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रहेको एन्फाले जनाएको छ । च्याम्पियनसिपका लागि बजेट साफले प्रदान गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया