स्कुल र क्याम्पस सञ्चालनको विषयले उग्ररुप लिँदा बिहीबार नवलपरासीको प्रतापपुर गाउँपालिकामा झडप भएको छ । झडपमा प्रहरीले ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । गाउँपालिका घेर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।प्रतापपुरको त्रिभुवन मावि र त्रिभुवन क्याम्पसबीच कक्षा कोठा उपलब्धका विषयमा विवाद हुँदै आएको छ । विद्यालय प्रशासनले कक्षा कोठा अपुग भएको भन्दै दिउँसो सञ्चालन हुने कक्षा ११ र १२ को पढाइका लागि कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गर्दै आएको छ ।तर, क्याम्पस प्रशासनले भने क्याम्पस क्युएए प्राप्त गर्ने प्रक्रियामा रहेकाले त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार कक्षा कोठा उपलब्ध गराउन नसकिने जनाउँदै आएको छ । कक्षा कोठा उपलब्ध नगराएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा नगर प्रहरीसहितका केही जनप्रतिनिधि पुगेर बुधबार क्याम्पस मुल गेटको ताला फोडेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अमुल पाण्डेले बताए ।ताला फोडेपछि आक्रोशित विद्यार्थी बिहीबार गाउँपालिका घेराउ गर्न पुगेका थिए । सोही क्रममा प्रहरी र विद्यार्थीबीच विवाद हुँदा झडप भएको हो । ६७८ विद्यार्थी अध्ययनरत क्याम्पसमा २० वटा कोठा रहेको अध्यक्ष पाण्डेले बताए । उक्त क्याम्पस भारतीय दुतावासको सहयोगमा निर्माण भएको हो । दुई छुट्टाछुट्टै भवन रहेको विद्यालय र क्याम्पस एउटै परिसरमा सञ्चालनमा छ ।क्याम्पस निर्माण भएको जग्गा विद्यालयको रहेको र पालिका मातहत रहेकाले कक्षा कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गरेको गाउँपालिका अध्यक्ष यादवले बताए । ‘भारतीय दूतावासले भवन हस्तान्तरण गर्दासमेत विद्यालयलाई गरेको छ ।केही दिनका लागि कक्षा ११ र १२ को पढाइ सञ्चालनका लागि माग्दा नदिएकाले पढाइ सुचारु गर्न ताला फोडेको हो,ु अध्यक्ष यादवले भने । विद्यालयको १२ कोठे नवनिर्मित भवन तयार हुन केही दिन लाग्ने भएकाले सो समयसम्मका लागि ८ वटा कोठा माग गरिएको उनले बताए ।राजनीतिक पूर्वाग्राहीका कारण विद्यार्थी उचालेर गाउँपालिका घेर्न पठाएको अध्यक्ष यादवको आरोप छ । गाउँपालिकामा ताला लगाउन पुगेका विद्यार्थीलाई रोक्दा ढुंगा प्रहार हुन थालेपछि स्थिति नियन्त्रण लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।झडपका क्रममा ५ जना प्रहरी सामान्य घाइते भएको र ३र४ जना विद्यार्थी पनि घाइते भएको पाण्डले बताए । झडपमा गाउँपालिका अगाडी रहेको एक निजी कारमा सामान्य क्षति पुगेपनि अरु क्षति नभएको प्रहरीले जनाएको छ ।